२०८३ बैशाख १४ गते , सोमबार

अवैध सम्बन्धबाट गर्भ बोकेकी बुहारीलाई सासूले घर निकाला गरेपछि मृत्यु, माइती पक्षले दिए प्रहरीमा उजुरी

sajilo news
झापा
२०८२ असार १२ गते , विहीबार
अवैध सम्बन्धबाट गर्भ बोकेकी बुहारीलाई सासूले घर निकाला गरेपछि मृत्यु, माइती पक्षले दिए प्रहरीमा उजुरी

बिर्तामोड घर भएकी एक महिलालाई सासूले उपचार नगराई घरबाट निकाल्दा मृत्यु भएको भन्दै माइती पक्षले कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन् । घरबाट निकालिएकी बिर्तामोड नगरपालिका–३ बस्ने सुमित बिककी श्रीमती २४ वर्षीया सरिता बिकको आज माइती घर सुनसरीको रामधुनी नगरपालिका–७ कुमारखतमा मृत्यु भएको हो ।

सरितालाई उनको सासू राधिका गजमेरले तीन दिनअघि घरबाट निकाली माइत पुर्याउन आएकी थिइन् । सरिता रिँगटा लाग्ने ,टाउको दुख्ने बिरामी भई उपचारको लागि उनको सासू राधिकाले विर्तासिटी अस्पताल बिर्तामोडमा लगेर चेकजाँच गराउँदा अवैध सम्बन्धबाट डेढ महिनाको गर्भवती देखिएको थियो ।

त्यसपछि सासूले उनलाई घरबाट निकालेर माइत पुर्‍याएकी थिइन् । सरिताका श्रीमान् विगत दुई वर्षदेखि दुबईमा रहेका छन् । सरिताको मृत्युपछि माइती पक्षले अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनले कानुनी प्रक्रिया पुरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएका छन् ।

सरिताको मृत्यु हुनु एक दिन अगावै माइती पक्षले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । माइती पक्षले हिजो ठाडो निवेदन दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी कारबाही अघि बढाइने उनको भनाई छ ।

सम्बन्धित समाचार