खामेनीले भने : इरानले आत्मसमर्पण गर्दैन, अमेरिकाले आक्रमण गरे मध्यपूर्वका महत्त्वपूर्ण केन्द्रमा कारबाही हुन्छ
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्नो देशमा आक्रमण गरेर अमेरिकाले कुनै ठूलो उपलब्धि हासिल नगरेको दाबी गरेका छन्। मंगलबार इजरायलसँग युद्धविराम सम्झौता भएपछि आफ्नो पहिलो सम्बोधनमा खामेनीले आक्रमणले इरानको आणविक कार्यक्रमलाई कुनै महत्वपूर्ण अवरोध नभएको बताएका हुन्।
युद्धविराम भइसक्दा पनि खामेनी सार्वजनिक नभएपछि सरकारी अधिकारीदेखि इरानी नागरिकसम्मले उनको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेको बेला बिहीबार उनी टेलिभिजन सम्बोधनमार्फत सार्वजनिक भएका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले दाबी गरेजस्तो इरानको आणविक महत्वाकांक्षालाई आक्रमणले कमजोर नपारेको उनको दाबी छ। उनले बरु, इरानले कतारमा रहेको अमेरिकी हवाई अड्डामाथिको ठूलो प्रहार गरेको उल्लेख गरे। उनले भने, ‘हामीले मध्यपूर्वको मुख्य अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर अमेरिकालाई गतिलो झापड हानेका छौं।’
उनले इरानले कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट पारे। यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान भित्रका तीन प्रमुख आणविक स्थलहरूमाथिको आक्रमणले तिनीहरूलाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका थिए।
खामेनीले अमेरिकाले निकट भविष्यमा पनि आक्रमण गरे मध्यपूर्वमा भएको अमेरिकाका महत्त्वपूर्ण केन्द्रहरूविरूद्ध इरानले कारबाही गर्ने चेतावनी दिए। खामेनीले ट्रम्पले आणविक स्थल आक्रमणको प्रभावलाई बढाइचढाइ गरेको बताए। उनले थपे: ‘उनीहरूले केही पनि हासिल गर्न सकेनन् र आफ्नो उद्देश्य हासिल गर्न सकेनन्।’