कचनकवलमा चोरी गरेको आरोपमा एक पक्राउ, दुईजना फरार
कचनकवल । कचनकवल गाउँपालिकामा दुई स्थानमा भएका छुट्टाछुट्टै चोरी घटनामा एक पक्राउ परेका छन् भने दुई जना भएका फरार छन्। कचनकवल-२ सुकुनाडिगीमा प्रकाश पाठकको घरमा शनिवार राति करिब ११ बजे चोरी भएको हो । पाठकका अनुसार स्यामसुङ मोबाइल चोरेपछि अर्को मोबाइल चोर्न खोज्दा आफूले चोरलाई खेदाएको बताए ।
त्यसैगरी, कचनकवल–६ बनियानीमा चोरीको प्रयास भइरहेको बेला स्थानीयले एक जनालाई समातेर प्रहरीलाई बुझाएका छन्।
इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक रोहितबहादुर मगरका अनुसार पक्राउ परेका व्यक्ति भद्रपुरस्थित चन्द्रगढीका मुकेश विश्वकर्मा हो । उनले स्थानीय घनश्याम राजवंशी र महेन्द्र शर्मा हजामको घरमा चोरीको प्रयास गरेका थिए । घटनामा संलग्न प्रदीप माझी र मौसम किस्कु भने हाल फरार रहेका छन्।
प्रहरीले घटनास्थलबाट एक थान मोटरसाइकल, खुकुरी र प्रकाश पाठकको चोरिएको मोबाइल बरामद गरेको छ। यता पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ।