थाई प्रधानमन्त्री सिनावात्राको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौंको सङ्ख्यामा सरकारविरोधी प्रदर्शनकारीले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्। कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन्।
टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरुद्ध आक्रोश छाएको छ। लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिनअघि सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो।
शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लाकार्ड फहराउँदै सडक जाम गरेका थिए।
प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो!” प्रदर्शनमा प्रायः वृद्धवृद्धा थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताले नेतृत्व गरेका थिए। उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो।
थाक्सिनका पूर्व सहयोगी तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको प्रमुख आयोजक रहेका थिए।“म यहाँ थाइल्याण्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुनुहुन्छ भन्न आएको हुँ,’ ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भने।
उहाँले एएफपीसँगको कुराकानीमा भने, “जब मैले गोप्यरूपमा बाहिरिएको कल सुनेँ तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ।” उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई सङ्केत गर्दै थपे, “म धेरै राजनीतिक संकटबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदै छ। प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ।”
थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ।
यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन्। अर्का एक प्रदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ‘रातो सर्ट’ समूहको भएको तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताए। उनले भने, “देशलाई माया नगर्ने थाइ साथीलाई देख्दा मलाई पीडा हुन्छ।”