इरानबाट ८८ हजार अफगानी स्वदेश फिर्ता
काबुल (एजेन्सी) । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई उद्धृत गर्दै खामा प्रेसले इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई देश निकाला गरिएको जनाएको छ ।
आइओएमको जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको छ । तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।
यस अवधिमा स्वदेश फर्केकामध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि, जुन १० देखि जुन १७ को बीचमा ३२ हजार ८४४ जनालाई स्वदेश फर्काइएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार जुन १ देखि जुन १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी आप्रवासी स्वदेश फर्केका छन् ।