झापामा राँगा र बोका चोरी गर्ने दुई युवा समातिए
झापामा अर्काको घरबाट राँगा र बोका चोरी गरी बेच्न लाग्दा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-७ का २२ वर्षीय सेवन्त चौधरी र सोही ठाउँका २० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
आइतबार बिहानको राति कनकाई नगरपालिका-८ का ५७ वर्षीया लक्ष्मीमाया लिम्बूको गोठमा बाँधेको एउटा राँगा चोरी भएको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी हुनसाथ प्रहरी टोली खोजतलासमा लागेका थिए ।
त्यसक्रममा आइतबार मध्यान्ह अर्जुनधारा नगरपालिका-१ खुदुनाबारीस्थित साप्ताहिक पशुबजारमा हराएको राँगा बेचबिखनका लागि बाँधेको अवस्थामा फेला परेको थियो । राँगा समातिरहेका चौधरीद्वयलाई शङ्कास्पद लागेर अस्थायी प्रहरी चौकी खुदुनाबारीमा राखेर सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरूले सो राँगा चोरी गरी ल्याएको बताएका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा असार ७ गते अर्जुनधारा- ७ बस्ने विवेक तामाङको घरबाट समेत बोका चोरी गरी ल्याई बिक्री गरेको उनीहरूले बताएका थिए । चोरी भएको बोका खरिद गर्ने सोही ठाउँ बस्ने धनबहादुर थकालको घरबाट सो बोका बरामद भएको छ ।
दुवै चौपाया सम्बन्धित धनीलाई बुझाई चोरीको दुवै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।