बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।
बंगलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा शेख हसिनाले सत्ता छाडेकी थिइन्। त्यसपछि शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो पटक हो। मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ।
प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, "यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।"
यसअघि प्रमुख अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए। सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा उनले "२२७ जनालाई मार्ने लाइसेन्स" मिलेको भनेका थिए। मुख्य अभियोजकले यो कुराकानी एआईबारे नभएको दाबी गरे।
इस्लामले भने, "सीआईडीको फोरेन्सिक रिपोर्टको विश्लेषण र सबै तर्कहरू सुनेपछि अदालत यो निष्कर्षमा पुगेको छ कि यस विवादास्पद कुराकानी मार्फत, शेख हसिनाले साक्षी वा अनुसन्धान अधिकारीहरू र मुद्दा प्रक्रियामा संलग्न व्यक्तिको हत्या र घर जलाइन्। यो अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गतको अपराध हो। जसको उद्देश्य यस न्यायाधिकरणको विचाराधीन कार्यवाहीलाई प्रभाव पार्नु हो।"