२०८३ बैशाख ४ गते , शुक्रबार

अर्जुनधारा नगरपालिकामा सत्ता पक्षका जनप्रतिनिधिबीच विवाद, सहकार्य तोड्ने काँग्रेसको चेतावनी

sajilo news
झापा
२०८२ असार २२ गते , आईतबार
अर्जुनधारा नगरपालिकामा सत्ता पक्षका जनप्रतिनिधिबीच विवाद, सहकार्य तोड्ने काँग्रेसको चेतावनी

झापाको अर्जुनधारा नगरपालिकामा सत्ता पक्षका नेकपा (एमाले) र ने्पाली काँग्रेसबीच विवाद बढेको पाइएको छ । अर्जुनधारा-५ का वडाध्यक्ष गीताराज खड्का र जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीबीचको विवादका कारण सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको हो । । काँग्रेस र एमालेबाट निर्वाचित ती दुई जनप्रतिनिधिबिचको विवादका कारण दुई दल सहकार्य तोड्ने अवस्थासम्म पुगेका छन् । 
एमालेले पटक–पटक धोखा र बेइमानी गरेको भन्दै सत्ता साझेदार दुई दलबीचको सहकार्य हुन नसक्ने कांग्रेसले चेतावनी दिएको हो । वडाध्यक्ष खड्काले रिता नेपालीको पर्खाल भत्काएको घटनालाई लिएर दुबैबिच विवाद भएको हो । जिल्ला समन्वय समितिकी सदस्य एवम् दलित नेतृ नेपालीले आफूमाथि वडाध्यक्ष खड्काले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको आरोप लगाउँदै जातीय विभेदको मुद्दा दर्ता गरेपछि दुवै सत्ता साझेदार दल आमनेसामने भएका हुन् । गत बिहीबार नेपालीको पर्खाल भत्काइएको हो ।

नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको आज बसेको आकस्मिक बैठकले एमालेसँगको राजनीतिक संयन्त्रमा अब उप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । संयुक्त सरकार भए पनि एमालेले एकलौटी शासन चलाई नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नेपाली काँग्रेस अर्जुनधारा नगर समितिले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए ।

रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष खड्काविरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरिएको दाबी गर्दै नेपाली काँग्रेस अर्जुनधाराले खेद प्रकट गरेको छ ।

असार २० गते वडाध्यक्ष खड्कासँग मेलमिलाप गर्ने सहमति गरेकी नेपालीले एमाले नेताहरूको दोहोरो भूमिकाका कारण जग्गाको सीमा विवादलाई जातीय विभेदको झुटा मुद्दा लगाएको काँग्रेसको आरोप छ । अति विपन्न आदिवासी समुदायका राजवंशी परिवारको चार धुर जमिनको सिमानाका विषयमा दलित नेतृ नेपालीसँग किचलो परेको थियो । किचलोका बीच नेपालीले पर्खाल बनाएपछि वडा कार्यालयले भत्काएको जनाइएको छ । बारम्बार किचलो गर्दै आएकी नेपालीले आफू जिल्ला समन्वय समितिको सदस्य भएको र आफ्नो राजनैतिक पहुँच माथिसम्मै रहेको भन्दै आफू गरिब राजवंशी परिवारलाई धम्क्याउँदै आएको सुमित्राले बताएकी छिन् ।

नगर समितिको बैठकमा कोशी प्रदेश सदस्य राजकुमार बराइली, महासमिति सदस्य दीपक तामाङ, ९ नम्बर वडाध्यक्ष भीष्म मिश्र, ६ नं वडाध्यक्ष हरिश्चन्द्र बास्तोला, ५ नं वडा सदस्य अर्जुन कँडेल, नगर उपसभापति प्रशान्त भण्डारीलगायतले बैठकमा धारणा राख्दै कानुनको दुरुपयोग र झुटा मुद्दा गर्नेहरुबिरुद्ध कानुनी र राजनैतिक सङ्घर्ष गरेर परास्त गरेरै छाड्ने अठोट लिएका थिए ।

नेपालीले काँग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष खड्कासँगै छोरी सुनिता र उनकी आमा सुमित्रा राजवंशीमाथि मुद्दा दर्ता गरेकी छन् । सुनितालाई प्रहरीले पक्राउ गरेको छ भने वडाध्यक्ष खड्का र सुमित्रा राजवंशी पक्राउ परेका छैनन् ।

सम्बन्धित समाचार