युक्रेनमाथि रुसको अहिलेसम्मकै ठुलो हवाई हमला
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै सबैभन्दा ठुलो हवाई हमला गरेको बताएका छन्। जेलेन्स्कीले रुसले युक्रेनका केही सहरलाई निशाना बनाएर ७२८ ड्रोन र १३ क्रूज वा ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन्।
जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै भने,‘यो ठ्याक्कै त्यस्तो समयमा भएको हो जब शान्ति स्थापना र युद्धविराम प्राप्त गर्न धेरै प्रयास भइरहेका छन्। तर यी सबै प्रयासलाई निरन्तर अस्वीकार गर्ने रुस मात्र हो।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप हतियार पठाउने बताएका बेला यो आक्रमण भएको हो।
मंगलबार अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। ट्रम्पले भने,‘पुटिन सधैं हामीसँग राम्रो व्यवहार गर्नुहुन्छ। तर यो सबै शून्यमा परिणत हुन्छ।’ यस्तै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी यस विषयमा एकदमै शान्त छौँ। ट्रम्पको बोल्ने तरिका सामान्यतया एकदमै कठोर हुन्छ र उनले प्रयोग गर्ने शब्दहरू पनि त्यस्तै हुन्छन्।’