२०८३ बैशाख ४ गते , शुक्रबार

प्रधानमन्त्री ओली दुई दिने भ्रमणका लागि झापा र इलाम आउँदै

sajilo news
झापा
२०८२ असार २८ गते , शनिबार
प्रधानमन्त्री ओली दुई दिने भ्रमणका लागि झापा र इलाम आउँदै

झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दुई दिने भ्रमणका लागि आज गृहजिल्ला झापा आउने भएका छन् । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । उनी आज बिहान ११ः३५ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउन कार्यक्रम रहेको जनाइएको छ । 

कार्यक्रम तालिका अनुसार आज दिउँसो १२ बजे झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन् । त्यसपछि बुद्धशान्तिबाट इलाम प्रस्थान गर्नेछन् । आजै दिउँसो २ः१५ बजे इलामको माई नगरपालिका-२ मा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास गर्नेछन् । 

प्रधानमन्त्री ओलीले आजै दिउँसो ४:४५ बजे कनकाई नगरपालिका ३ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ । आज प्रधानमन्त्री ओली झापाको दमकमै बस्ने छन् ।

भोलि आइतबार बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक-२ स्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान साढे ११ बजे गौरीगञ्ज पश्चिममा हुलाकी राजमार्गमा निर्मित रतुवा खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलि नै दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम सहभागी पश्चात् काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित समाचार