२०८३ बैशाख ४ गते , शुक्रबार

अर्जुनधारा नगरपालिकामा चर्कियो विवाद, वडाध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

sajilo news
झापा
२०८२ असार ३० गते , सोमबार
अर्जुनधारा नगरपालिकामा चर्कियो विवाद, वडाध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

झापाको अर्जुनधारा नगरपालिकामा सत्ता पक्षका ठूला दुई दलका जनप्रतिनिधिबीच विवाद झन बढ्दै गएको पाइएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक नै स्थगित भएको छ । आज बिहान बस्ने गरी तय भएको बैठक काँग्रेसका तर्फबाट निर्वाचित ७ जना वडाध्यक्षहरूले बहिष्कार गरेका हुन् । बिहानको बैठक अपराह्नका लागि सारिएकोमा सो बैठकमा समेत आफूहरू सहभागी नहुने नेपाली काँग्रेस अर्जुनधाराका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष भीष्म मिश्रले बताए ।

अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्का (हरि) माथि लागेको आरोपका सम्बन्धमा नगर प्रमुख र उपप्रमुखले कुनै पहल नगरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले नगर बैठक बहिष्कार गर्ने यसअघि नै निर्णय गरेका थिए । नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको असार २२ गते बसेको आकस्मिक बैठकले अर्को निर्देशन नभएसम्म अर्जुनधारा नगरपालिकाको बैठकमा पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षहरू सहभागी नहुने निर्णय गरेको नगर सभापति हेमप्रसाद खरेलले बताए । अर्जुनधारा नगरपालिकामा वडा नं १ बाट उपेन्द्र बस्नेत , २ बाट सिद्धार्थ श्रेष्ठ , ३ बाट सिताराम भट्टराई , ४ बाट अमरबहादुर कट्वाल , ५ बाट गीताराज खड्का (हरि), ६ बाट हरिश्चन्द्र बास्तोला र वडा नं ९ बाट भीष्म मिश्र गरी ७ जना वडाध्यक्ष रहेका छन् । ५५ सदस्यीय नगर कार्यपालिकामा काँग्रेसका १४ जना रहेका छन् ।

अर्जुनधारा ५ का वडाध्यक्ष खड्का र जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीबीचको विवादका कारण सत्ता साझेदार काँग्रेस र एमालेबिच सम्बन्ध चिसिएको हो । नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको सो आकस्मिक बैठकले एमालेसँगको राजनीतिक संयन्त्रमा अब उप्रान्त कुनै सहकार्य नगर्ने निर्णयसमेत गरेको थियो ।

वडाध्यक्ष खड्काले रिता नेपालीको पर्खाल भत्काएको घटनालाई लिएर दुवैबीच विवाद भएको हो । जिल्ला समन्वय समितिकी सदस्य एवम् दलित नेतृ नेपालीले आफूमाथि वडाध्यक्ष खड्काले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको आरोप लगाउँदै जातीय विभेदको मुद्दा दर्ता गरेपछि दुवै सत्ता साझेदार दल आमनेसामने भएका छन् ।

गत बिहीबार नेपालीको पर्खाल भत्काइएको हो । रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष खड्काविरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरिएको काँग्रेसको दाबी छ ।

नेपालीले काँग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष खड्कासँगै छोरी सुनिता र उनकी आमा सुमित्रा राजवंशीमाथि मुद्दा दर्ता गरेकी छन् । सुनितालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने वडाध्यक्ष खड्का र सुमित्रा राजवंशी पक्राउ परेका छैनन् ।

सम्बन्धित समाचार