२०८३ बैशाख १० गते , विहीबार

इन्जिनियर र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

sajilo news
झापा
२०८२ असार ३० गते , सोमबार
इन्जिनियर र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियरसहित सातजना भ्रष्टाचारमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन इन्जिनियर रंजितकुमार यादव, लेखापाल शिवकुमार झा र पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैताविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो। 

यस्तैगरी सबैला नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष सञ्जुकुमारी यादव र नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत स्व. बालबीर ठाकुरकी श्रीमती पलवी ठाकुर र उनका छोरा रौनित ठाकुरविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ। 

नगरपालिकाले आ.व. २०७७/०७८ मा कृषि प्रवर्द्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको, कृषि उपकरण खरिद र किसानलाई बासमती धानको बीउ वितरण कार्यक्रममा किसानलाई धानको बीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी परेको थियो। 

अख्तियारले अनुसन्धान गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्न ५ लाख रूपैँया विनियोजन गरेकोमा नगरपालिकाले सूचना प्रकाशित नगरी कर्मचारीसहितको मिलेमतोमा कोभिड-१९ को कारण देखाई अर्चना सहकारी संस्थाको मात्र निवेदन पर्न आएको भनी सम्झौता गरी अनियमितता गरेको पाइएको छ। 

सम्झौता बमोजिमको कार्यक्रमका लागि बोका, पाठी, च्यापकहर, डाले घाँस खरिद नगरी मिलोमतोमा झुटा बिल भरपाई र गलत कागजात तयार गरी कुल १४ लाख ७७ हजार ५०० रूपैँया हिनामिना गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।  

उनीहरूविरुद्ध १४ लाख ७७ हजार ५०० रूपैँया बिगोसहित भ्रष्टाचार निवारण ऐन बमोजिमको जरिवाना तथा सजायको माग दाबी अख्तियारले गरेको छ।  

सम्बन्धित समाचार