२०८३ बैशाख १० गते , विहीबार

पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ

sajilo news
मोरङ
२०८२ असार ३२ गते , बुधबार
पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ

मोरङको जहदाबाट प्रहरीले पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधवार बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको उनको भनाइ छ ।

उनका अनुसार भुस राख्ने घर खानतलासी गर्दा प्लास्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको हो । प्रहरीले पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको छ । बरामद भएको हतियार लुकाएर राखेको आशङ्कामा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष् मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।

प्रहरीका अनुसार हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।  हरिकुमार र आशिष् यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले बताएको छ । 

सम्बन्धित समाचार