झापाकी गंगा राई मृत्यु प्रकरणः प्रहरीको भूमिका नै शंकास्पद
बिर्तामोड । झापाको अर्जुनधारामा एक महिलालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको भन्दै प्रहरीले कुटपिटमा संलग्नलाई उन्मुक्ति दिने प्रयास गरेको छ । गत असार २५ गते राति अर्जुनधारा–८ स्थित प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राईलाई सामूहिक कुटपिट भएको थियो ।
उनको सामूहिक कुटाइबाट मृत्यु हुन सक्ने आशङ्का गरिएकोमा अहिले प्रहरीले कुटपिटपछि आत्महत्या गरेको भन्दै कुटपिटमा संलग्नहरूलाई उन्मुक्ति दिने प्रयास गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले महिला माथि कुटपिट भएको तर उनले पछि आत्महत्या गरेको हुन सक्ने बताए ।
उनले पक्राउ परेका विरुद्ध अहिले आत्महत्या दुरुत्साहनको मुद्दा अघि बढाएको बताए । गंगा राई मृत्यु प्रकरणमा पक्राउ परेका भोजपुर रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ डेरागरी बस्ने ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैयाँ भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनले महिलामाथि कुटपिट भएको उल्लेख गरेका छन् ।
पोस्टमार्टम रिपोट आई नसकेका भन्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले तत्कालको प्रमाणका आधारमा आत्महत्या दुरुत्साहन मुद्दा अघि बढाएको बताए । उनले पोस्टमार्टम रिर्पोटमा हत्या भन्ने विषय आएमा उनीहरू विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने जानकारी दिए । असार २५ गते पक्राउ परेका उनीहरूमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर उनीमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।
सोही कारण उनको मृत्यु भएको थियो । उनलाई राती नै बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइए पनि उनको बाटैमा मृत्यु भएको अवस्थामा अस्पताल ल्याइएको अस्पतालका एक कर्मचारीले जानकारी दिए । उनले अस्पतालमा मृत अवस्थामा ल्याइएकाले उनको मृत्युको कारण थाहा नहुने बताए । उता शंकर अस्पताल शनिश्चरेमा रातको समयमा महिलालाई उपचारका लागि ल्याए पनि अवस्था जटिल देखिएकाले अस्पतालमा इन्ट्रि नै नगरी तत्काल बिर्तामोडका ठुला अस्पताल लैजान सुझाव दिइएको शंकर अस्पतालका प्रबन्ध निर्देशक सुजन सिवाकोटीले जानकारी दिए । कुनै चेकजाँच नभएकाले उनी के बिरामी थिइन भन्ने केही थाहा नभएको बताइएको छ । यता प्रहरीले भने महिलाले कुटपिटपछि झुन्डिएर आत्महत्या गरेको बताउँदै आएको छ ।