एमालेले गर्यो लागूऔषध कारोबारमा नाम जोडिएका भानुभक्त खरेललाई निलम्बन
नेकपा (एमाले) नगर कमिटी बिर्तामोडले नगर सदस्य भानुभक्त खरेललाई पार्टीबाट निलम्बन गरेको छ। बिर्तामोडबाट ठूलो परिमाणको औषधीजन्य लागूऔषध बरामद गरेको घटना इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको र सो घटनामा नगर सदस्य खरेलको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको पार्टीले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो । सचिवालयको बैठकले उक्त घटनामा नाम जोडिएका खरेललाई अनुसन्धान नसकिएसम्म नगर सदस्य पदबाट निलम्बन गरिएको नगर अध्यक्ष सुभाष भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ति विज्ञप्तिमा उल्लेख छ ।
गलत क्रियाकलापमा संलग्न जो कोहीलाई कारबाही हुनुपर्छ भन्ने पार्टीको नीति रहेकोले अनुसन्धानमा सहयोग पुर्याउन खरेललाई निलम्बन गरिएको विज्ञप्तिमा भनिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित लोटस होटेल छेउमा विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १ बजेको समयमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले मनकुमार सङ्ग्रौलाको घरमा छापा मारेर ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेको थियो ।

उद्यत सनलाइट फर्माका सञ्चालक तथा बिर्तामोड–५ निवासी ५० वर्षीय भानुभक्त खरेलले राजनीतिक शक्तिको आडमा सङ्ग्रौलाको घरमा कोठा भाडा लिई लामो समयदेखि औषधीजन्य लागू औषधको कारोबार गर्दै आइरहेका थिए। स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर सो कोठाबाट विभिन्न छ प्रकारका झन्डै सवा दुई लाख लागूऔषध ट्याब्लेटसहित खरेलका कामदार अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरे पक्राउ परेका छन् । उनी भने अझै फरार छन् ।
यो पनि पढ्नुहोस् :
बिर्तामोडबाट सप्लाई हुन्थ्यो देशका विभिन्न सहरमा लागूऔषध, कामदार पक्राउ, मुख्य कारोबारी फरार