ओली सरकारमा कसले कति कमाउने भनेर होडबाजी चलिरहेको छ : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले वर्तमान ओली सरकारमा कसले कति कमाउने भनेर होडबाजी चलिरहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरको पाँचौँ नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले केपी ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिन थालेको घटनालाई इङ्गित गर्दै यस्तो बताएका हुन् ।
अहिलेको सरकारले जनतालाई विदेशमा बेचेर खाने, महँगी बढाएर खाने, शरणार्थी बनाएर विदेशमा पठाएर खाने, भिजिट भिसामा पठाएर पनि खाने गरेको भन्दै लिङ्देनले भने, अहिले सरकारमा बसेकाहरू जहाँ र जसरी भएपनि कमाउने प्रवृत्ति हाबी भएको देखिन्छन् । राप्रपा एक मात्र पार्टी जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर भ्रष्टाचारविरुद्ध औँला उठाउँदै आएको छ ।
राप्रपाबाहेकका सबै पार्टी कुनै पनि फायल खोल्ने भनेपछि डरले काँप्ने गरेको लिङ्देनको दाबी छ । उनले थप्दै भने, ‘राप्रपाबाहेक अन्य जुनसुकै पार्टीले भ्रष्टाचारको बिल्ला भिरेर हिँडेका छन्, राप्रपा यस्तो पार्टी हो, जसलाई भ्रष्टाचार गरेको बारेमा कसैले पनि औँला उठाउन सक्दैनन् ।’
मेचीनगर–१०, धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवनको सभाहलमा भएको अधिवेशनको अध्यक्षता मेचीनगर नगर अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य सबिना बजगाईँले गरेकी थिइन् । अधिवेशनमा अध्यक्ष लिङ्देन, केन्द्रीय सदस्य श्यामसुन्दर ओली, झापा अध्यक्ष केशवप्रसाद ओझालगायतको उपस्थिति रहेको थियो । अधिवेशनले चन्द्र निरौलाको अध्यक्षतामा २१ सदस्यीय मेचीनगर नगर समिति सर्वसम्मत गठन गरेको छ ।