गाजामा भोकमरीका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अस्पतालमा विगत २४ घण्टामा भोकमरीका कारण १० जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै यससँगै २०२३ मा अक्टोबर ७ मा भएको आक्रमणदेखि यता भोकमरीका कारण मृत्यु हुनेको कुल संख्या १११ पुगेको जनाएको छ।
दक्षिणी गाजामा रहेको अस्पतालमा डा. अहमद अल–फराराले हरेक दिन कुपोषित र कमजोर बिरामीको उपचार गर्ने गरेको बताए।
खान युनिसस्थित नासेर अस्पतालका बालरोग विभागका प्रमुख डा. अल–फर्राले बीबीसी विश्व सेवाको न्यूजडे कार्यक्रममा तीन दिनदेखि खाना नभएको बताए। उनले पीठो तरकारी केही पनि उपलब्ध नभएको बताए।
उनले आफ्नो युनिटमा आउने बालबालिका विभिन्न स्तरको भोकमरीबाट पीडित रहेको बताए। यसअघि मन्त्रालयका प्रवक्ताले मंगलबार पछिल्लो ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको बताएका थिए। उनले २०२३ मा युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १०१ रहेको बताए। यसमध्ये ८० बालबालिका रहेका छन्।