बिर्तामोडको शुभारम्भ सुधार केन्द्रमा रहेका युवकले किन खाए फलामे काँटी ?
बिर्तामोडको सुधार केन्द्रमा रहेका एक युवक फलामे काँटी खाएका छन् । बिर्तामोड नगरपालिका– ७ हर्कलाल मार्गमा रहेको शुभारम्भ प्रतिष्ठान नेपाल (सुधार केन्द्र) मा रहेका धरान उपमहानगरपालिका-८ का २४ वर्षीय सौरभ गुरुङ काँटी खाएर बिरामी परेका हुन् । गत असार २७ गते गुरुङलाई उनका आफन्तले त्यहाँ ल्याएर राखेका थिए ।
उनी असार ३० गते सुधार केन्द्रबाट भागी फरार भएका थिए । खोजतलास गर्ने क्रममा साउन ९ गते भद्रपुर लाइनबाट उनलाई फेला पारी पुनः सुधार केन्द्रमा ल्याई राखिएको थियो ।
आइतबार साँझ ६ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि सोही सुधार केन्द्रका अध्यक्ष बिर्तामोड ५ बस्ने २४ वर्षीय कृष्ण कडरियाले बिर्तासिटी अस्पताल बिर्तामोड लगेका थिए । सिटी स्क्यान गर्दा उनको पेटमा २ वटा काँटी देखिएको छ । उनको शरीरको विभिन्न भागमा नीलडाम समेत देखिएको प्रहरीले जनाएको छ । काँटी किन र कहिले खाएको पनि भने खुलेको छैन ।