२०८३ बैशाख ४ गते , शुक्रबार

भोकमरीले मृत्युको जोखिममा गाजाका हजारौँ नागरिक

sajilo news
एजेन्सी
२०८२ श्रावण १६ गते , शुक्रबार
भोकमरीले मृत्युको जोखिममा गाजाका हजारौँ नागरिक

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ।  डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको सिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ। 

गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवश्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

कुपोषणबाट निको हुन महिनौंको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार चाहिने उल्लेख गर्दै सङ्गठनले केही प्रभावहरू आजीवन हुन सक्ने र वृद्धि तथा दीर्घकालीन स्वास्थ्य जोखिम कायम रहने जनाएको छ।

डब्ल्यूएचओले सबै सम्भावित मार्गमार्फत गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्बाध प्रवेशका लागि आह्वानसमेत गरेको छ। सङ्गठनले इजरायललाई सहयोगको वितरणलाई सहज बनाई जीवन बचाउन र नागरिकहरूको पीडा अन्त्य गरी यसको सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न आग्रह गर्दै युद्धविरामको आह्वान गरेको छ।

सम्बन्धित समाचार