२०८३ बैशाख १० गते , विहीबार

झापामा ब्राउनसुगरसहित पाँचजना पक्राउ

sajilo news
झापा
२०८२ श्रावण १९ गते , सोमबार
झापामा ब्राउनसुगरसहित पाँचजना पक्राउ

झापामा लागूऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । शिवसताक्षीमा ३ जना र झापा गाउँपालिकामा २ जना पक्राउ परेका हुन् । गएराति १०.२५ बजे शिवसताक्षी नगरपालिका –५ सालमारा बस्ने ३० वर्षीय राजेन्द्रकुमार ताजपुरियाले लागूऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी नायव निरीक्षक खड्गबहादुर गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनको घरमा गई चेकजाँच गरेको थियो । त्यसक्रममा राजेन्द्रकुमार ताजपुरिया सुत्ने कोठाको ओछ्यानमा प्लास्टिकमा पोका पारेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।

ब्राउनसुगर तौल गर्दा प्लास्टिकसहित १५ ग्राम २३ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम फेला परेको जनाइएको छ । राजेन्द्रकुमार ताजपुरियासंगै वडा नं ४ बस्ने १८ वर्षीय अजय ताजपुरिया र ४० वर्षीय किशोर शाहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

त्यस्तै गएराति ११ बजे झापा गाउँपालिका– ४ बेलाइतीबारी इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार विमलबहादुर खडका र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी सहायक निरीक्षक धुव्रकुमार राजवंशीको कमान्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका झापा गाउँपालिका ७ मदरगाझ बस्ने १९ वर्षीय रेहान आलम र सोही ठाउँ बस्ने १७ वर्षीय दीपक टुडूमाथि शंका लागेर चेकजाँच गर्दा दुवैको साथबाट अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।

सम्बन्धित समाचार