३४ सेकेन्डमै बगायो भारतको उत्तरकाशीमा एउटा वस्ती, चार जनाको मृत्यु, ५० बढी बेपत्ता
भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै आएको भीषण बाढीले तहसनहस बनाएको छ। कल्पनाभन्दा बाहिरको तीव्र गतिमा आएको बाढीले ३४ सेकेन्डमै नदी किनासका वस्ती बगाएको छ ।
क्षतिको विवरण नआएपनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ। घटना आज दिउँसोको हो। क्षतिको विवरण आउन बाँकी छ। उद्धार जारी रहेको जनाइएको छ। लगातार दुई दिनदेखि परेको भीषण वर्षाका कारण बाढी आएको हो । बाढी गाउँतिर पसेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। मानिसहरू डरले यताउता भागिरहेका थिए । भने चिच्याहटले सिङ्गो गाउँ गुञ्जिएको छ।
सैलाबले धराली बजार पूर्ण रूपमा ध्वस्त पारेको छ। बजार क्षेत्रका धेरै होटल र पसलहरू बगाइसकेका छन्। मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै राज्य सरकार सतर्क रहेको बताएका छन्। “हामी लगातार परिस्थिति निगरानीमा राखिरहेका छौँ। राहत र उद्धारको काम तीव्र रूपमा अघि बढिरहेको छ,” मुख्यमन्त्री धामीले बताए।
प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।