२०८३ बैशाख ४ गते , शुक्रबार

साझा मुद्दामा राजनीतिक दल एक हुनुको विकल्प छैन : नेता सिटौला

sajilo news
रासस
२०८२ श्रावण २२ गते , विहीबार
साझा मुद्दामा राजनीतिक दल एक हुनुको विकल्प छैन : नेता सिटौला

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको आज दमकमा आयोजित प्रथम प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले देश र जनताको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र समृद्धितर्फ देशलाई लैजान ठुला दलहरूबिच सहकार्य भएको समेत उल्लेख गरे ।

देशको मुख्य आधार स्रोत कृषि क्षेत्र भए पनि लक्ष्यअनुसार कृषि क्षेत्रले प्रतिफल दिन नसकेको उल्लेख गर्दै उनले हाम्रो कृषि कर्मलाई निर्वाहमुखी मात्र नभई व्यावसायिकसँगै उद्योगका रूपमा विकास गरिनुपर्ने उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कृषिलाई व्यवसायीमुखी बनाउनुपर्नेमा जोड दिए । कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकका मुद्दा उठाउने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गर्दै कृषि र किसानका विषयमा पार्टी विमुख हुँदै गएको गुनासो गरे ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कृषि प्रधान मुलुक भनिए पनि विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए ।

कांग्रेस दमक पार्टी कार्यालयमा भएको किसान महासङ्घको अधिवेशन उद्घाटनमा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य सीताराम भट्टराई, महासङ्घ भोजपुर अध्यक्ष इन्दिरा प्रधान, ताप्लेजुङ अध्यक्ष भीमबहादुर गुरुङ लगायतले मन्तव्य राखे । अधिवेशनले आज नै नयाँ नेतृत्व चयन गर्नेछ । 

सम्बन्धित समाचार