भद्रपुरमा लागूऔषध कारोबारमा भान्जी-ज्वाइँलाई पक्रिन गएका प्रहरीलाई खुकुरी देखाउने राईमाथि मुद्दा
भद्रपुरमा लागूऔषध कारोबारमा संलग्न भान्जी ज्वाइँलाई पक्राउ गर्न आएका प्रहरीलाई घरेलु हतियार देखाउँदै आक्रमणको प्रयास गरेका भद्रपुर-५ का ५२ वर्षीय शम्भु राईमाथि मुद्दा दायर गरिएको छ ।
सोही दिन साउन २५ गते पक्राउ परेका राईलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार कसुरमा ५ दिन म्याद लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
साउन २५ गते दिउँसो १ बजेतिर भद्रपुर- ५ बस्ने सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली खटिएको थियो । टोलीले कानुन बमोजिम खानतलासी गर्दा कालो प्लास्टिकमा पोका पारेको सानो डल्लोमा २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागूऔषधसहित श्रेष्ठलाई पक्राउ गर्न खोज्दा उनकी श्रीमती लक्ष्मी राजवंशी र मामा ससुरा शम्भु राईले खुकुरी बोकेर लखेटदै आक्रमणको प्रयास गरेका थिए । राईले हातमा खुकुरी बोकी प्रहरीको बाटो छेक्दै अपशब्द बोलेको डीएसपी खड्काले बताए । साथै सार्वजनिक स्थलमा हिँड्ने महिला तथा बृद्धहरुलाई समेत आतंकित बनाएका थिए ।
अवरोध गरेपनि केही समयपछि प्रहरीले लागूऔषध कारोबारी श्रेष्ठ , उनकी श्रीमती राजवंशी र मामा ससुरा राईलाई पक्राउ गरेको थियो । मामा ससुरा राईमाथि मुद्दा चलाएपनि श्रीमतीलाई सोही दिन छोडिएको डीएसपी खड्काले जानकारी दिएका छन् ।
यो पनि पढनुहोस् ।
भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीमाथि नै आक्रमणको प्रयास, तीन जना समातिए