झापामा सामाजिक सञ्जालमार्फत ठगीका घटना बढ्यो, सचेत बन्न प्रहरीको आग्रह
पछिल्लो समय झापामा ठगीको शैली परिवर्तन भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले सचेत गराएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न शैली अपनाएर ठगी हुने क्रम बढेको भन्दै प्रहरीले सचेत गराएको हो । झापामा सामाजिक सञ्जालको दुरुपयोग गर्दै ठगी बढ्दै भएपछि प्रहरीले सार्वजनिक सूचना जारी गरी आम सर्वसाधारणलाई सचेत गराएको हो ।
रोजगार तथा अन्य कामको सिलसिलामा विदेशमा रहेकाहरूको परिवार, आफन्त र साथीभाइहरूलाई ह्वाट्सएपलगायतका विभिन्न सामाजिक सञ्जाल, फोन तथा म्यासेजमार्फत सम्पर्क गरी विदेशमा रहेका तपाईँको आफन्त आफ्नो कब्जामा रहेकोले पैसा नदिए ज्यान लिने धम्की दिने, त्यस्तै दुर्घटनामा परेकाले तत्काल उपचार गर्न पैसा चाहिने वा प्रहरीले पक्राउ गरी जेल हाल्न लागेकोले छुटाउन पैसा चाहिने जस्ता त्रास देखाएर ठगी गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
उनले त्यस किसिमको ठगीको एकपछि अर्को गर्दै उजुरी पर्दै गएको बताउँदै विभिन्न ठगी गर्ने गिरोहहरू सक्रिय रहेकाले सजग रहन सबैलाई अनुरोध गरेको बताए । यस्ता किसिमका फोन तथा म्यासेज प्राप्त भएमा प्रहरी कन्ट्रोल रुम १०० मा डायल गरी जानकारी दिन वा नजिकको प्रहरी कार्यालयमा सूचित गर्न उनले अनुरोध गरेका छन् । यसरी ठगी गरेका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।