२०८३ बैशाख ४ गते , शुक्रबार

कुवेतमा विषाक्त मदिरा सेवनबाट १३ श्रमिकको मृत्यु, नेपाली पनि हुनसक्ने आशंका

sajilo news
काठमाडौं
२०८२ श्रावण २९ गते , विहीबार
कुवेतमा विषाक्त मदिरा सेवनबाट १३ श्रमिकको मृत्यु, नेपाली पनि हुनसक्ने आशंका

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवन गरेपछि कुवेतमा एसियाली देशका १३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने दर्जनौँलाई अस्पताल भर्ना गरिएको जनाएको छ।

कुवेतमा अस्पतालहरूले दूषित पेय पदार्थसँग सम्बन्धित ६३ वटा घटनाहरूको उपचार गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कुवेत विष नियन्त्रण केन्द्र, सुरक्षा निकायहरू र अन्य अधिकारीहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ। बिरामीहरूमा विभिन्न लक्षणहरू देखिएका छन्। ३१ जनालाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको छ भने ५१ जनालाई आपत्कालीन डायलिसिस गरिएको जनाएको छ ।

२१ जना स्थायी रूपमा अन्धोपन वा गम्भीर दृष्टि गुमाएको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ । अधिकारीहरूले मदिराको स्रोत पत्ता लगाउन र यसको वितरणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्यु हुनेहरू कुन–कुन देशका हुन् भन्ने बारेमा परिचय नखुलाईकन भए पनि नेपाल,भारत लगायतका हुनसक्ने अनुमान गरिएको छ।

घटना ’bout त्यहाँस्थित नेपाली दूतावासले केही नबताए पनि भारतीय दूतावासले भने कुवेतमा विषाक्त मदिरा सेवनका कारण ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएको जनाएको छ। अहिले कुवेतको केन्द्रीय कारागारमा रहेका ४८ जना नेपाली मध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्री वितरण गरेका कारण जेल परेका छन्।

अनियन्त्रित मादक पेय पदार्थ सेवन गर्ने खतराहरूको बारेमा जनतालाई चेतावनी दिएका छन्। स्वास्थ्य मन्त्रालयले जनतालाई अस्पतालहरूमा सम्पर्क गरेर वा समर्पित हटलाइनहरूमा कल गरेर मिथानोल विषाक्तताको कुनै पनि शङ्कास्पद घटनाहरू तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको जनाएको छ ।

कुवेतमा मदिरा प्रतिबन्धित छ। त्यहाँको कानूनले मादक पदार्थको आयात र आपूर्तिलाई निषेध गरेको छ । व्यावसायिक उद्देश्यका लागि मदिरा आयात गर्ने वा उत्पादन गर्ने जो कोहीलाई पनि जेल सजाय हुनेछ। यो समाचार राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार