कुबेतमा विषाक्त मदिरा सेवनबाट १६ जना नेपालीको मृत्यु
कुवेत । विषाक्त मदिरा सेवनबाट कुबेतमा १६ जना नेपाली कामदारको मृत्यु भएको छ। अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ।
कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएकोमा तीमध्ये १६ जना नेपालीको तीन दिनको अवधिमा मृत्यु भएको पाइएको छ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल र सचिव आङ्काजी शेर्पाले आज एक विज्ञप्ति जारी गर्दै मदिरा पिएर बिरामी परेका १ सय ६० जनाभन्दा बढीको स्थानीय अस्पातलको सघन कक्षमा उपचार भइरहेको छ।
पछिल्लो समय कुवेत सरकारले गैरकानुनी रूपमा मदिरा बनाउने ठाउँमा कडा जाँच र नियन्त्रण गरेपछि मदिराको अभाव भएको थियो। मदिराको कारोबार गर्नेहरूले विषाक्त रसायनहरू प्रयोग गरेर मदिरा बनाएको हुनसक्ने आशंका गरिएको छ।
कुवेतमा मदिरा आोसारपसार र विक्री वितरण पूर्णरुपमा प्रतिबन्धित भए पनि नेपालीसहित एशियाली मुलका नागरिकहरूले आफैँ मदिरा बनाएर पिउने गरेका छन्।