झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापामा पक्राउ
झापा । चारदिन अघि सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर भागेका एक कैदी झापामा पक्राउ परेका छन् । बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– १० विराट पोखरबाट आज बिहान ६ बजे पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । पक्राउ परेका खत्री हाल प्रहरी कार्यालय झापामा रहेको र सुनसरी पठाउने तयारी भइरहेको जनाइएको छ ।
कैदी खत्री झुम्का कारागारको ‘बी’ ब्लकबाट बुधवार राति भागेका थिए । खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । उक्त मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय, ५ लाख जरिवाना र ३०,०००।– रुपैयाँ क्षतिपूर्ति सजाय सुनाएको थियो ।