गाजा कब्जा गर्ने तयारीमा इजरायल, ६० हजार रिजर्भ सेना परिचालन गर्ने
इजरायली सेनाले गाजा कब्जा गर्नेगरी स्थलगत आक्रमणको तयारी शुरु गरेको छ। सेनाका प्रवक्ताका अनुसार सेनाले गाजाको वरिपरिको क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ र जेईतोन र जाबालिया क्षेत्रमा सैन्य गतिविधि शुरु भएको छ।
इजरायली रक्षा मन्त्री इजरायल क्याट्जले मंगलबार यो आक्रमणलाई स्वीकृति दिएका थिए। सैन्य योजना अनुसार, लगभग ६० हजार रिजर्भ सेनालाई सेप्टेम्बरको शुरुमै सक्रिय गरिनेछ। यसैबीच हमासले इजरायललाई युद्धविरामको सम्झौतामा अड्चन पुर्याउने आरोप लगाएको छ। इजरायलले गाजा कब्जा गर्ने गरी आक्रमण शुरु गरेपछि विश्वका नेताहरूले यसको विरोध गरेका छन्। बीबीसीका अनुसार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस्तो आक्रमण दुवै देशका जनताका लागि विनाशकारी हुने सम्पूर्ण क्षेत्रलाई स्थायी युद्धमा धकेल्ने बताए।
अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजाको २१ लाख जनसंख्याका लागि स्थिति झन् कष्टकर बन्ने चेतावनी दिएको छ। गाजा युद्धमा हालसम्म ६३ हजार मानिसको मृत्यु भइसकेको छ। इजरायलले शुरु गरेको आक्रमणले हमासद्वारा बन्धक बनाइएको व्यक्तिहरुको रिहाइसमेत अनिश्चित बन्ने देखिएको छ।