२०८३ बैशाख १० गते , विहीबार

धरौटी रिहा भएका बिर्तामोडका पूर्वनगर प्रमुख शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवार सर्वोच्च पुग्यो

sajilo news
झापा
२०८२ भाद्र ५ गते , विहीबार
धरौटी रिहा भएका बिर्तामोडका पूर्वनगर प्रमुख शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवार सर्वोच्च पुग्यो

धरौटीमा रिहा भएका बिर्तामोडका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अदालतले धरौटी रिहा गरेको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । दर्ता नम्बर ८०००८ रहेको छ ।  उच्च अदालतको फैसलाप्रति चित्त नबुझेपछि आफूहरू सर्वोच्चमा गएको बालिकाका एक आफन्तले जनाएका छन् ।

घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व नगर प्रमुख शिवाकोटीलाई धरौटीमा छोड्न गत बैशाख २५ गते उच्च अदालतले आदेश दिएको थियो ।उच्च अदालत विराटनगरको इलाम इजलासले २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो ।

यसअघि गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी ५ महिनादेखि बीएण्डसी अस्पतालमै रहेका थिए । त्यसअघि २४ मङ्सिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा थिए ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्धार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । सीमामा रहेर चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शङ्कास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।त्यस क्रममा उनले आफू बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर, पटक पटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।

बुबाआमा नभएकी पीडितलाई घरको काम गरिदिएबापत पढाइदिने सर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार