गाजामा अनिकाल घोषणा
रोम । संयुक्त राष्ट्रसंघले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्याएको आरोप लगाएका छन् । यससँगै राष्ट्रसंघले अनिकालको घोषणा गरेको हो ।
तर, इजरायलको विदेश मन्त्रालयले राष्ट्रसंघको घोषणाप्रति तीव्र असन्तुष्टि जनाएको छ । गाजा सहर र आसपासमा अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झुटमा आधारित’ रहेको मन्त्रालयको दाबी छ । ‘गाजामा कुनै अनिकाल छैन,’ मन्त्रालयले भनेको छ । मध्यपूर्वमा अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले जानकारी दिएका छन् ।
आसन्न संकटबारे चेतावनी दिने जिम्मा पाएको राष्ट्रसंघको अनुगमनकर्ताहरूको गठबन्धन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी)’ ले अनिकालको आकलन गरेको थियो । आईसीपीले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ । गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसमध्ये कम्तीमा दुईजनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण मृत्यु हुने गरेको छ । राष्ट्रसंघका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि अवस्था झनै बिग्रिएको र गाजामा महिनौंदेखि मानवीय अवस्था दयनीय बन्दै गएको बताएका छन् ।
रोमस्थित आईपीसीले भनेको छ, ‘सन् २०२५ अगस्ट १५ सम्ममा गाजाको प्रशासनिक प्रान्तमा अनिकाल (आईपीसी चरण ५) उचित प्रमाणसहित पुष्टि भएको छ ।’ संयुक्त राष्ट्रसंघको अनुमानअनुसार हाल गाजा क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन् । ‘पछिल्लो २२ महिनाको निरन्तर द्वन्द्वपछि गाजापट्टीका पाँच लाखभन्दा बढी मानिस भोकमरी, गरिबी र मृत्युको भयावह अवस्थाको सामना गरिरहेका छन्,’ आईपीसीको दण्ड संहिताको प्रतिवेदनमा भनिएको छ । अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा फैलिने र यसले गाजाको कुल जनसंख्याको तीन चौथाइभन्दा बढी वा लगभग ६ लाख ४१ हजार मानिसहरू प्रभावित हुने आईपीसीले अनुमान गरेको छ ।
आईपीसीले गाजापट्टीमा भोकमरीको विश्लेषण गर्न थालेदेखि स्थितिमा सबैभन्दा गम्भीर अवस्था आएको रिपोर्ट गरेको छ, जसलाई ‘पूर्ण रूपमा मानव सिर्जित’ भनेको छ । द्वन्द्वमा तीव्र वृद्धि र ठूलो संख्यामा मानिसहरू विस्थापित हुनुका साथै खाद्यान्नको मानवीय र व्यावसायिक आपूर्ति पहुँचमा गम्भीर प्रतिबन्धका कारण यस्तो परिवर्तन आएको बताइएको छ ।
मार्चको सुरुमा, इजरायलले गाजाबाट सहायता आपूर्तिमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो भने मेको अन्त्यमा धेरै सीमित मात्रामा मात्र सहायता प्रवेश गर्न अनुमति दिएको थियो । जसकारण गाजामा खाद्यान्न, औषधि र इन्धनको चरम अभाव भएको होे । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको विधिका रूपमा प्रयोग गर्नु युद्ध अपराध भएको बताएका छन् । संयुक्त राष्ट्रसंघका आपत्कालीन राहत संयोजक टम फ्लेचरले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै इजरायलको व्यवस्थित अवरोधका कारण सीमामा खाद्यान्न थुप्रिएको बताएका छन् ।
उनले गाजाको अनिकालले ‘सबैलाई पिरोल्नुपर्ने’ बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई रिहा गर्न र गाजामा पूर्ण मानवीय पहुँचका लागि पुनः आह्वान गरेका छन् । ‘हामी यो अवस्थालाई दण्डहीनताका साथ जारी रहन दिन सक्दैनौं,’ उनले भने । विशेषगरी खानाका अभावले गर्दा बालबालिकालाई निकै समस्या हुने गरेको छ ।
राष्ट्रसंघीय निकायका अनुसार जुलाईमा मात्रै १२ हजारभन्दा बढी बालबालिका कुपोषित भएका छन् । युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भनिन्, ‘गाजाका बालबालिकाको शरीर बिग्रिएकोे, उनीहरू खानका लागि पनि धेरै कमजोर अवस्थामा रहेको, बच्चाहरू भोक र रोकथामयोग्य रोगबाट मरिरहेका लक्षणहरू स्पष्ट देखिन्छ ।’
आईपीसीले गाजा सहरको उत्तरमा रहेको उत्तरी गाजा प्रान्तको अवस्था अझ खराब हुन सक्ने बताएको छ । तर, त्यसबारे आफूसँग पर्याप्त तथ्यांक नभएको पनि आईपीसीले बताएको छ ।