मेचीनगरकी कविता शौचालयमा मृत फेला, श्रीमान पक्राउ
झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गर्दा श्रीमान् पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–३ घर भई हाल मेचीनगर-१३ चारआली चोकस्थित सरोज भट्टराईको घरमा कोठा भाडा लिई बस्दै आएका यज्ञप्रसाद ढकालकी श्रीमती ३० वर्षीया कविता चिमरिया ढकालले आइतबार बिहान ११ बजे शौचालयको बलोमा सलको पासो लगाई आत्महत्या गरेकी थिइन् ।
घटनाबारे प्रहरी चौकी चारआलीमा जानकारी प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक कुमार खड्काको कमान्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा टोली खटिएको थियो ।
सोही दिन दिउँसो २ बजे प्रहरीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । माइती पक्षले श्रीमान् यज्ञप्रसादकै कारण कविताले आत्महत्या गरेको भन्दै प्रहरीमा आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् । माइती पक्षले जाहेरी दिएपछि श्रीमान् यज्ञप्रसादलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।
घटना हुनुभन्दा अगाडि सोही दिन बिहान यज्ञप्रसादले मादक पदार्थ सेवन गरी कवितामाथि आज जे पनि हुनसक्छ भनेर माइती पक्षलाई धम्क्याएको बताइएको छ ।