चीनमा आँधीबाट १ लाख भन्दा बढी मानिस प्रभावित
यस वर्षको १३ औं आँधी काजिकी आइतबार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त काउन्टीसम्मको अपतटीय क्षेत्रहरू हुँदै गएको थियो । भियतनामको मध्य र उत्तरी तटीय क्षेत्रहरूतर्फ अघि बढेको थियो ।
प्रारम्भिक तथ्याङ्कले हेनानमा लगभग १ लाख २ हजार ५ सय मानिसहरू प्रभावित भएको देखाएको छ । आँधीले सान्या, लेडोङ, लिंगशुई र वानिङ लगायतका शहरहरू र काउन्टीहरूमा सडक, पानी आपूर्ति प्रणाली, बिजुली र सञ्चार सुविधाहरूमा क्षति पुर्याएको छ ।
साथै केही क्षेत्रमा रूखहरू ढलेका छन् र बाढी आएको छ ।बाढी नियन्त्रण, विपद् राहत र गम्भीर रूपमा प्रभावित क्षेत्रहरूमा सडक सफा गर्न सहयोग गर्न सेना, सशस्त्र प्रहरी र अग्नि नियन्त्रक टोलीका १० हजार भन्दा बढी कर्मचारीहरू पठाइएको छ । ७ लाख ७० हजार भन्दा बढी आपत्कालीन आपूर्तिहरू छुट्टाइएको छ ।