२०८३ बैशाख १० गते , विहीबार

झापास्थित होटल किङ्सबरी अपराधको अखडा बन्दै, क्यासिनो र डान्सबारबाट मासिक रकम असुल्दै प्रहरी

sajilo news
झापा
२०८२ भाद्र ११ गते , बुधबार
झापास्थित होटल किङ्सबरी अपराधको अखडा बन्दै, क्यासिनो र डान्सबारबाट मासिक रकम असुल्दै प्रहरी

अमेरिकाबाट आफन्त भेट्न विनीता न्यौपाने स–परिवार बिर्तामोड आइन् । आफन्तसँगको भेटघाटपछि उनी आफ्ना श्रीमान् हेमन्त अधिकारी र काखे नानी ज्योयालाई लिएर घुम्न निस्किइन् ।

सोही क्रममा उनी बिर्तामोडस्थित होटल किङ्गसबरीमा कोठा लिएर बस्छिन् । उनीहरूलाई भेट्न होटलमै आउँछिन् आफन्त (भान्जी) अञ्जली कार्की । उनलाई होटल प्रवेशमा रोक लगाएपछि माइजू विनीतालाई फोन गर्दै आफूलाई होटल पस्न नदिएको सुनाउँछिन् । सोही क्रममा विनीता होटलको गेटतर्फ गइन् ।

अञ्जलिसँग एक व्यक्तिको भनाभन भइरहेको सुनेपछि विनीताले आफ्नो गेस्ट भन्दै जानकारी गराउँछिन् । तर, विवाद बढ्दै जान्छ । सो क्रममा होटलमा रहेका एक व्यक्तिले विनीतालाई गालामा चड्कन हान्छन् । उनको पिटाइबाट विनीता घाइते हुन्छिन् । उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइन्छ । होटल परिसरमा गेस्टले कुटाइ खाँदा समेत होटल प्रशासन चुइँक्क बोल्दैन ।

श्रोतका अनुसार विनीतालाई त्यहाँस्थित एक वाउन्सरले पिटेका हुन् । उनी हाल फरार रहेको बताइएको छ । वाउन्सरको पिटाइबाट बिनिताको सुनका गहना समेत हराएको बताइन्छ । होटल किङ्गसबरीमा दुई वटा बाउन्सर कम्पनीको सेक्युरिटी रहेको छ । दीप साउदेनसहितले सञ्चालन गरेको त्रिशूल वाउन्सर एन्ड सेक्युरिटी सर्भिसले त्यहाँस्थित सेवन हर्ष क्यासिनो हेर्ने काम गर्छ । त्यस्तै पूर्वडीआईजी संलग्न रहेको अर्को वाउन्सर कम्पनीले प्रवेशद्वारसहितमा सेक्युरिटीको काम गर्दै आएको छ । साउदेनले सञ्चालन गरेको त्रिसूलका बाउन्सरले नभई विनीतालाई ओभरल होटलको सेक्युरिटी हेर्ने कम्पनीका बाउन्सरले कुटेको बताइएको छ ।

श्रोतका अनुसार होटल किङ्गसबरी प्रशासन वाउन्सरको पक्षमा देखिएको छ । पीडित महिलालाई मिल्न दबाब दिँदै इलाका प्रहरी कार्यालय अनारमनीसम्म पुगेको घटनालाई ढाकछोपको प्रयास गरिरहेको छ । तर, नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई होटलमा कुटपिट गरिएको घटनाका विषयमा नेपाल प्रहरीलाई जानकारी गराएसँगै घटना मिलाउन होटलले दिएको दबाबलाई चासो दिएको छैन ।

यता पीडित पक्षले इलाका प्रहरी कार्यालय अनारमनिमा ठाडो निवेदन दिँदै दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ भने गरेको छैन । जाहेरीका आधारमा उनलाई पक्राउ गर्ने जनाए पनि हालसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए । उनले भने– होटलमा बस्न आएका जो कोही भए पनि उनीहरूले कुटाइ खानुहुँदैन । हामीकहाँ ठाडो निवेदन आएको छ, जाहेरी आए कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्छौँ ।

होटल किङ्गसबरीले नेपाल प्रहरीका उच्च ओहोदाका व्यक्तिलाई मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ । क्यासिनोका कारण अधिकांश झापाका स्थापित व्यवसायी टाट पल्टिएर पलायनसम्मको स्थितिमा पुगेका छन् भने कतिपयले आत्महत्यासम्म गरेका घटना बाहिरिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय झापाले यस विषयमा कुनै चासो देखाएको छैन ।

होटल किङ्गसबरीमा नेपालीलाई प्रवेश गराएर खुलेआम क्यासिनो खेलाउँदै आएको भन्दै बिर्तामोडका केही व्यवसायीले प्रमुख जिल्ला अधिकारीसम्मलाई ध्यानाकर्षण गराएका छन् । तर, जिल्ला प्रशासन कार्यालय समेत यो विषयमा सजग देखिँदैन । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले क्यासिनोका बारेमा पटक– पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले पत्रकार सम्मेलनमा समेत सार्वजनिक रूपमै होटल किङ्गसबरीमा खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो खेलाएको भन्दै खबरदारी गर्न आग्रह गरेका थिए ।

तर, झापा प्रशासनले नसुनेका कारण होटल किङ्गसबरीमा पटक–पटक त्यस्ता घटना घटेका छन् । क्यासिनोका कारण विभिन्न घटना घटेपछि इलाका प्रहरी कार्यालय अनारमनिका एक प्रहरी अधिकृतले होटलका व्यवस्थापकलाई शुरुमा सम्झाएको र नमानेपछि होटलमै गएर कुटेका थिए ।

प्रहरीको उच्च दर्जाका व्यक्तिलाई नै मासिक लाइन बुझाएका कारण होटल किङ्गसबरीमा अवैध गतिविधि हुँदै आएको श्रोतको दाबी छ । समाचार संकलनका लागि गएका एक पत्रकारलाई समेत होटलभित्रै कुटपिट गरेको र खिचिएका सामग्री समेत डिलिट गर्न लगाएको बताइन्छ । ती पत्रकारले नेपालीले खुलेआम रुपमा क्यासिनो खेल्दै गरेको दृश्य कैद गरेका थिए । होटलभित्रै कुटिएका पत्रकारले समेत सो विषय सार्वजनिक गर्न सकेनन् । कारण उनीसँग भएको सबै प्रमाण नष्ट गरिएको थियो ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका एक पूर्व पदाधिकारी समेत होटल किङ्गसबरीमा कुटिएका थिए । सो घटना समेत दबाइएको छ । श्रोतका अनुसार होटलबाट विभिन्न अवैध गतिविधि समेत हुने गरेको छ । बिर्तामोडका एक व्यवसायीका अनुसार होटलमा आउने गेस्टले भारतबाट लागूऔषध ल्याउने गरेको र त्यहाँबाट सप्लाइको काम समेत हुँदै आएको छ । प्रहरीकै सेटिङमा लागूऔषधजन्य बस्तु पश्चिम नेपालसहित काठमाडौँसम्म पुग्ने गरेको छ ।

क्यासिनोका लागि भारतबाट आउने गेस्टको चेकजाँच नहुने र उनीहरूले के कारोबार गरिरहेका छन् भन्ने विषयमा प्रहरीले समेत निगरानी नगर्दा होटलबाट अवैध कारोबार हुँदै आएको ती व्यवसायीको दाबी छ । घटनाका विषयमा होटल सञ्चालक र होटल प्रशासनलाई जिज्ञासा राख्न गरिएको टेलिफोन सम्पर्कमा उनीहरूले रेस्पोन्स गर्न चाहेनन् ।

होटल किङ्गसवेरी मात्र होइन झापाको बिर्तामोडमा सञ्चालित साना होटल र डान्सबारबाट समेत प्रहरीले रकम असुल्दै आएको छ । श्रोतका अनुसार घुमुवाको प्रयोग गर्दै प्रहरीले होटल र डान्सबारबाट खुलेआम रुपमा रकम असुल्दै आएको हो ।

सम्बन्धित समाचार