रूबी साह हत्या आरोपी लक्ष्मणको उपचारका क्रममा मृत्यु
रौतहटमा २६ वर्षकी रूबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ। बुधवार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए।
आफ्नो शरीरमा आफैँ आगो लगाउनु पहिले करिब ९ मिनेटको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए। उनले रुबी कि आमा नै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका थिए।
माधव नारायण नगरपालिका वडा नं–६ स्थित खेतमा पासवन जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनी आफ्नो शरीरमा आफैँले आगो लगाएर गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनले आफ्नो शरीरमा आगो लगाउनु अगाडि रुबीको हत्या आफैँले गरेको बताएका छन्। भिडियो सन्देशमा उनले रुबीको हत्या आफैँले गरेको स्वीकारेका छन्।
रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन्। गत शनिवार सुटकेसभित्र उनको शव फेला परेको थियो। त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो।
घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको स्वीकारेका थिए। उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरेँ भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ।
रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेम विवाह भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन्।
उनले जारी गरेको भिडियो सन्देशमा राजन ,राजु ,राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दावी गरेका छन्। उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन्।
उनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए।
भारतको मजफरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो। हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ।
उनले आफूले कसरी रुबीको हत्या गरेँ भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए। आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरु हुने खाने धनीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ।
पासवालले रुबीको फोटो र नामको ट्याटुसमेत बनाएको बताइएको छ। आफ्नो शरीरमा आगो लगाई घाइते अवस्थामा पक्राउ परेका पासवानलाई गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको बर्न अस्पतालमा साँझ ६ बजेतिर निधन भएको हो।