२०८३ बैशाख ३ गते , विहीबार

२५ वर्षदेखि एउटै जहाजमा जीवन बिताइरहेको ८ जनाको परिवार

sajilo news
एजेन्सी
२०८२ आश्विन २८ गते , मंगलबार
२५ वर्षदेखि एउटै जहाजमा जीवन बिताइरहेको ८ जनाको परिवार

विगत २५ वर्षदेखि, एक स्विस परिवार डुङ्गामा संसारभर यात्रा गर्दै आएको छ। उनीहरुको घर समुद्र हो। श्र्वोएरर दम्पती र उनीहरूका ६ जना बच्चाहरू २० वर्ग मिटरको ठाउँमा बस्छन्। जलवायु संरक्षण गर्ने अभियानमा समुद्रमा यात्रा गर्दै आएका श्र्वोएरर परिवारको अनौठो जीवनशैलीले धेरैलाई चकित पार्छ। 

जाबीने श्र्वोएररका अनुसार एउटै डुङ्गामा लिभिङ रुमदेखि भान्सा घर अनि बालबालिकाका क्याबिनसम्म रहेको छ। त्यहीँ उनीहरुका लागि सावर पनि छ। उनीहरू तीब्र हावा र छालका बीच पनि उनीहरू खाना बनाएर खान्छन्। ८ जनाको परिवारको पूरै जीवन मात्र २० वर्गमिटरमा गुज्रिएको छ। सीमित ठाउँमा बस्नुपर्दा चुनौतीहरू पनि आउँछन्।

डुङ्गामा प्राइभेसी एक लक्जरी मानिन्छ तर बच्चाहरूले आफ्ना लागि छुट्टै कोठा, ठूलो ओछ्यान नमागेको र कहिल्यै पनि गुनासो नगरेको आमा जाबीनो बताउँछिन्। ‘सायद यसरी नै हुर्किएकाले गर्दा पनि उनीहरू असन्तुष्ट देखिँदैनन्’‚ उनले भनिन्। 

श्र्वोएरर दम्पतीका सबै सन्तान यात्राकै क्रममा जन्मिए। तिनीहरूको उमेर अहिले ७ देखि २० वर्ष छ। सडक, गाडी लगायतको बीचमा हुर्कनुको सट्टा उनीहरू जनावर र प्रकृतिको बीचमा ठूला भइरहेका छन्। 

‘हामी उनीहरूलाई सानै उमेरमा कामहरूसँग परिचित गराउँछौँ, हिँड्न सक्ने हुनुअघि नै जहाजमा कसरी सुरक्षित रुपमा हिँड्ने भनेर सिकाउँछौँ’, दारियो भन्छन्‚ ‘सानैमा आफ्नो जिम्मेवारी सम्हाल्न थाल्छन्, सेल फोनमा व्यस्त भइरहन नपाउने, समयमै उठ्न पर्ने लगायतका केही नियम पनि लगाइदिएका छौं।’

दारियो र उनकी पत्नी जाबीनोले १९ मा आफ्नो अनौठो जीवनको सुरुवात गर्दै संसारभरको यात्रामा निस्किएका थिए। दारियो एक सर्टिफाइड पर्वतारोही र गाइड हुन्। उनी हरेक महाद्वीपको सबैभन्दा उच्च चुचुरोमा चढ्न चाहन्थे । मान्छेहरूलाई पृथ्वीको रक्षाका लागि प्रेरित गर्नु उनको लक्ष्य थियो। 

‘यस अभियानमा पैसा जुटाउन सुरुमा कठिन थियो, आज एक तरिकाले हामी भाग्यमानी ठान्छौँ, किनकि हामीसँग स्पन्सरशिप छ, हामीले राम्रो काम गरिरहेको ठान्नेहरूले हामीलाई दान दिन्छन्’, जलवायु विज्ञ समेत रहेका दारियो भन्छन्‚ 'जहाज हाम्रो संयुक्त हृद य परियोजना र घर हो, हामी यसलाई त्याग्न सक्दैनौँ।’

अहिले उनीहरुलाई शहरभन्दा समुद्रमा सुरक्षित महसुस हुन्छ। ‘प्रकृतिले हामीलाई सधैँ संकेत दिन्छ जस्तै : छालको ढाँचा, हावाको चापमा परिवर्तन, बादलको संरचना, त्यसै अनुसार हामी आफूलाई तयार पार्न सक्छौं तर शहरमा यो सबै नियन्त्रणमा हुँदैन’ दारियो भन्छन्।  

दारियो र जाबिनोले सुरुमा २५ वर्षसम्म एउटै डुङ्गामा, त्यो पनि छोराछोरीको साथमा बस्ने योजना बनाएका थिएनन् तर अहिले परिवारका हरेक सदस्यले यस अभियानमा योगदान पुर्‍याइरहेका छन्। उनीहरू डुङ्गा चलाउन मद्दत गर्छन्।

श्र्वोएरर परिवारले अहिलेसम्म २ लाख ६० हजार किलोमिटरको यात्रा गरिसकेको छ। बच्चाहरू जब आफ्ना बाबुआमालाई कतै काममा जानु परेमात्र स्कुल जान पाउँछन्। डुङ्गामै उनीहरू होम स्कुलिङ गर्छन्, यसक्रममा उनीहरुलाई स्कुलका साथीहरूको निकै याद आउँछ। 

‘म साथीहरूलाई निकै मिस गर्छु, उनीहरुलाई बारबार छोड्न र बाई भन्नुपर्दा राम्रो लाग्दैन‘, दारियोकी छोरी आलेग्रा भन्छिन्‚ ‘तर डुङ्गामा यात्रा गर्दा एउटा मात्र नभएर धेरै साथीहरू बनाउने अवसर मिल्छ।’ 

समुद्रबाट प्लाष्टिक टिपेर जम्मा गर्नु पनि उनीहरुको जीवनको एक हिस्साझैँ भएको छ। यो परिवारले अहिलेसम्म समुद्रबाट कुल ८५ हजार किलो फोहर बाहिर निकालेका छन्।

‘हामी माइक्रो प्लाष्टिकको नमुना लिन्छौं र दायाँ तर्फबाट इ–डिएनए लिन्छौं, जसबाट हामी कुन प्रकारका प्रजाति मौजुद छन् भनेर तय गर्न सक्छौँ। अर्थात् यो सबै जैविक विविधताको बारेमा रहेको छ’‚ दारियोले भने।

सम्बन्धित समाचार