२०८३ बैशाख ५ गते , शनिबार
झापामा बेवारिसे अवस्थामा नवजात शिशु फेला
झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएको छ । गएराति अन्दाजी ९ बजे बुद्धशान्ति गाउँपालिका-७ सुनमाईस्थित सीमा आचार्यको घरको अगाडीको वरन्डामा अन्दाजी ४–५ दिनको जस्तो देखिने शिशु (छोरी) बेवारिसे अवस्थामा भेटिएको हो । सोही घरमा भाडा लिई बस्ने ताप्लेजुङ श्रीजगा ७ बस्ने ओमप्रकाश तुमीहाङ लिम्बूले देखेर इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
ती शिशुलाई कसले छोडेको हो भनेर थाहा हुन सकेको छैन । इप्रका बुधबारेको टोली खटिएर स्थानीय, भद्रभलादमी तथा जनप्रतिनिधिको समन्वयमा ती शिशुलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
शिशुको अवस्था सामान्य रहेको छ । त्यसबारे थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योसँगै करिब एक वर्षको अवधिमा झापामा चार जना जीवित नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् ।