२०८३ असार २ गते , मंगलबार

उरुग्वे साउदी अरबसँग बराबरीमा रोकियो, इरान र न्युजिल्यान्डको खेल पनि बराबरी

sajilo news
एजेन्सी
२०८३ असार २ गते , मंगलबार
उरुग्वे साउदी अरबसँग बराबरीमा रोकियो, इरान र न्युजिल्यान्डको खेल पनि बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा भएको समूह एचको दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

मियामीमा आयोजित यस संस्करणकै पहिलो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ४१ औं मिनेटमा अब्दुलइलाह अलअम्रीले गोल गर्दै साउदी अरबलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि रक्षात्मक रूपमा बलियो देखिएको साउदीले उरुग्वेका स्टार स्ट्राइकरहरूलाई दबाबमा राख्दै १-० को अग्रता कायम राख्न सफल भयो।

तर, दोस्रो हाफमा खेलमा फर्किन उरुग्वेले आफ्नो आक्रमणलाई तीव्र बनायो। खेलको ८० औं मिनेटमा माक्सी अराउजोले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा सकियो।

यस बराबरीसँगै दुवै टोलीले समान १-१ अंक जोडेका छन्। साउदी अरबले पूर्व च्याम्पियन टोलीलाई बराबरीमा रोक्दै सकारात्मक सुरुवात गरेको छ भने उरुग्वेले ढिलो गरी खेलमा फर्कँदै हार टारेको छ। यही समूहको पहिलो खेलमा स्पेन र केप भर्डले पनि बराबरी खेल्दै अंक बाँडे ।  यता इरान न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा भएको खेलामा  इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै बराबरीमा ल्याएको हो। यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह जी को शीर्ष दुई स्थानमा रहे। यसै समूहमा बेल्जियम र इजिप्ट पनि समान एक एक अंकमा छन्।

न्युजिल्यान्डका लागि इजिल जस्टले दुई गोल गरे। न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा जस्टले गोलको खाता खोले। उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए।

इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो। न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे। त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो। जस्टले ५४ औं मिनेटमा न्युजिल्यान्डका लागि दोस्रो गोल गरे।

मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई उनले सुन्दर गोलमा परिणत गरे। यसै क्रममा उनी विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने न्युजिल्यान्डका पहिलो खेलाडी पनि भए। तर, त्यो अग्रता पनि लामो समय टिकेन् र इरानले खेलको ६३ औं मिनेटमा फेरि बराबरी गोल फर्काउन सफल रह्यो । अनमार्क रहेका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरे।

सम्बन्धित समाचार