झापामा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती
झापामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती शुरु भएको छ । तीनवटा सुरक्षा निकायले दैनिक रुपमा संयुक्त गस्ती थालेका हुन् ।
हिजो बिहान नेपाली सेनाका अरिदमन गुल्म चन्द्रगढीबाट सहायक सेनानि भिमप्रसाद ढकालको कमाण्डमा ६ जनाको टोली, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको कमाण्डमा ५ जनाको टोली र सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बुद्धिराज राईको कमाण्डमा ७ जनाको टोली दुई वटा सवारी साधनमा भद्रपुर १० चन्द्रगढी बिमानस्थल हुँदै भद्रपुर ५ को सीमा एरियातर्फ गस्ती खटिएको थियो ।
त्यस्तै हिजो दिउँसो ३;३० बजे दमक नगरपालिका–१, ५ र ६ दमक बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक दावा थिङको कमाण्डमा ७ जना, अरिदमन गण चारआलीबाट उप–सेनानी बिजय पाण्डेको कमाण्डमा १० जना, ३८ न.रिजव गण पाडाजुंगीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठको कमाण्डमा ६ जना गरी जम्मा २३ जनाको संयुक्त पैदल गस्ती निस्किएको थियो । उक्त गस्ती कात्तिक १५ गतेसम्म फरक–फरक समयमा दैनिक गरिने जनाइएको छ ।