झापामा कारसहित हराएका सरोज शर्माको हत्या, शव बिरीङ पुलमुनि गाडिएको अवस्थामा फेला
झापा । सात दिनअघि आफ्नै कारसहित हराएका झापा शिवसताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ ।
शर्माको शव आज बिहान बाह्रदशी र झापा गाउँपालिका सीमा पर्ने बिरीङ नदीको पुल मुनि गाडिएको अवस्थामा फेला परेको हो । पुल मुनि खाल्डो खनी पुरिएको शव गन्हाएको अवस्थामा आज बिहान स्थानीयले फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा तत्काल पहिचान नखुलेको शव शर्माको भनी खुलेको हो । शर्माले लगाएको लुगा र हुलियाको आधारमा शवको पहिचान गरिएको एक प्रहरी अधिकृतले बताएका छन् । उनको टाउको गम्भीर चोट पनि देखिएको छ ।
उनको हत्या गरी शव यहाँ ल्याएर गाडेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
शवको पहिचान मृतकको श्रीमतीले गरिसकेको बताउँदै डीएसपी खडकाले भने, ‘उनको हत्या कहिले र कहाँ भयो त्यस बारेमा अनुसन्धान हुन चाहिँ बाँकी छ ।’
शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेका छौँ । घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन् ।
दुई दिनअघि मात्र शर्माको सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । गाडी कसले ल्याएर जलाएको भनी अझै खुलेको छैन ।
गाडी जलेको अवस्थामा भेटेपछि प्रहरीले सो घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बेला शर्माको शव आज भेटिएको हो । शर्मा गत कार्तिक ९ गते दिउँसो ४ बजे माइधारस्थित घरबाट छठ पूजाका लागि गाडी धुने भन्दै निस्केका थिए । सम्पर्कविहीन भएका शर्मा झापाका विभिन्न बजारमा घुमेको सिसी फुटेज देखिएको थियो । उनी सुरुङामा अन्तिम पटक देखिएका थिए । त्यसपछि देखि उनी सम्पर्कविहीन भएका थिए । शर्मा काठमाडौँस्थित आइटी अफिसमा काम गर्दै आइरहेका थिए । उनी तिहार तथा छठ मनाउन घर आएका थिए ।