२०८३ बैशाख ४ गते , शुक्रबार
सुडानको अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण‚ ४० जनाको मृत्यु
खार्तुम । सुडानमा एक अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। सेनाको नियन्त्रणमा रहेको अल–ओबेद शहर नजिकै भएको उक्त हमलामा सयौँ घाइते भएको बिबीसीले जनाएको छ। मानवअधिकारवादीहरूका अनुसार अल–लुवैब गाउँमा शोकसभाका लागि मानिसहरू पालमा जम्मा भइरहेका वेला आक्रमण भएको हो।
आक्रमणका लागि अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई जिम्मेवार ठहर्याएका छन् तर आरएसएफतर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
धेरैजना घाइतेहरूको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। हाल कोरदोफान क्षेत्रमा लडाइँ तीव्र बनेको छ। यही क्षेत्र तेलको ठूलो भण्डारका कारण संवेदनशील मानिन्छ। आरएसएफले हालै बारा शहरमाथि नियन्त्रण गरेपछि २० हजार मानिस विस्थापित भएका छन्। विस्थापित भएकाहरू गत हप्तादेखि अल–ओबेदतर्फ बसाइँ सरेका छन्।