२०८३ बैशाख ५ गते , शनिबार
दमकको तुलसी सहकारीमा आगजनी गर्ने चारजना पक्राउ
दमकको तुलसी बहुमुखी सहकारी संस्थाको कार्यालय भवनमा आगो लगाई तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।
हिजो राति १.४० बजे दमक ९ स्थित हाल बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको सटरमा आगो लगाई तोडफोड गर्ने चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी ४ बस्ने २० वर्षीय आकाश खड्का ,दमक ९ बस्ने २५ वर्षीय आकाश सोरेन , धनकुटा पख्रिबास ८ बस्ने २२ वर्षीय सुजन दर्जी र उर्लाबारी १ बस्ने २१ वर्षीय विक्रम तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सटर फोड्न प्रयोग हुने फलामको औजार पिलास, फलाम काट्ने कैँची, काँटी उखाल्न प्रयोग हुने फलामको रड, हथौडा, पन्युँ र पेट्रोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।