झापामा तीन जना फरार प्रतिवादी पक्राउ
झापामा विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र–१ का रामबहादुर विश्वकर्मालाई बहु विवाह मुद्दामा सजाय तोकिएकै अवस्थामा झापाको मेचीनगर–६ काँकडभिट्टाबाट पक्राउ गरिएको हो ।
इनरुवा जिल्ला अदालतमा दर्ता भएको मुद्दा नं. ०८१–८१–०५९८ अनुसार उनीलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो।
काँकडभिट्टा इलाका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा आज दिउँसो करिब १ बजेतिर देवकोटा पार्क नजिकैबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत झापामा उपस्थित गराइएको छ।
यसैगरी, बालबालिका विरुद्धको कसुरमा १ वर्ष कैद सजाय तोकिएका झापा कचनकवल–७ का २५ वर्षीय गोपाल राजवंशीलाई समेत पक्राउ गरिएको छ। झापा जिल्ला अदालतको २०८१ मङ्सिर ५ गतेको फैसलापछि फरार रहेका राजवंशीलाई फैसला कार्यान्वयन टोलीले सितागढीबाट नियन्त्रणमा लिएको हो।
त्यसैबिच, अपहरण तथा शरीर बन्धक मुद्दामा फरार १६ वर्षीय दिवस गुरुङलाई अर्जुनधारा–११ बसपार्क क्षेत्रमा पक्राउ गरिएको छ। जेनन- जी आन्दोलनको क्रममा गत भदौ २४ गतेबाट फरार रहेका गुरुङलाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले आज साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।