२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडको जनजागरण सभामा बोल्दै लिङ्देनले भने, निर्वाचनअघि नै प्रधानमन्त्री र मन्त्रीको भागवण्डा देख्दा लाज लाग्यो

sajilo news
झापा
२०८२ पौष १२ गते , शनिबार
बिर्तामोडको जनजागरण सभामा बोल्दै लिङ्देनले भने, निर्वाचनअघि नै प्रधानमन्त्री र मन्त्रीको भागवण्डा देख्दा लाज लाग्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिने पार्टीले निर्वाचनअघि नै प्रधानमन्त्री र मन्त्रीको भागबन्डा गरेको देख्दा आफूलाई लाज लागेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला कमिटीको आयोजनामा आज बिर्तामोडमा भएको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो टिप्पणी गरेका हुन् । ‘ निर्वाचनअघि नै अहिले को प्रधानमन्त्री, को मन्त्री बन्ने भनेर भागबन्डा गरेको देख्दा मलाई लाज लागेको छ’ उनले भने,‘उनीहरूलाई यही सरकार र व्यवस्थाले र यस्तै भ्रष्ट नियुक्तिले कसरी चुनाव हुन्छ भनेर थाहा छैन ?

उनले राजा,जेनजी , राजनीतिक दलसहितको संशोधित नयाँ व्यवस्था लागु गरेर मात्र चुनाव हुन सक्ने दाबी गरे । अबको एक मात्र विकल्प राजा ,जेनजी र राजनीतिक दलको सहमतिको सरकारबाट मात्र चुनाव सम्भव रहेको उनको भनाई थियो । राप्रपाले राजासहितको प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्री र प्रदेश संरचना खारेजीसहित संवैधानिक राजतन्त्र चाहेको उनले बताए ।

देश दुर्घटनामा जाने पहिले नै चेतावनी दिइसकेको तर नपत्याएकोमा हाल काँग्रेस र एमालेले पश्चात्ताप गर्नु परिरहेको बताउँदै उनले भने ,‘जेनजी आन्दोलनले कुन रूप लिन्छ र के हुन्छ भन्ने कुराको सुईको ओली सरकार र ठुला राजनीतिक दल भनाउँदाले थाहा नपाउँदा केही गर्न नसकेर भाग्नु पर्‍यो ।’ देश समुन्नत र समृद्ध बनाएर अब आउने नयाँ पुस्तालाई देश सुम्पिने कर्तव्यमा राप्रपा रहेको भन्दै लिङ्देनले जेनजीको आवश्यकतालाई राप्रपाले बुझिसकेको धारणा राखे । शेरबहादुर देउवा, केपी ओली, प्रचण्डको पेरी फेरीमै देश चलिरहेकोले अव त्यस्तो राप्रपाले हुन नदिने चेतावनी दिए ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारले सीमा नाघेपछि जेनजी आन्दोलन सुरु भएको बताउँदै वर्तमान संविधानका केही धाराहरू संशोधन नगरी देशको अवस्था परिवर्तन गर्न नसकिने धारणा राखे । अहिलेको संविधानले सुशासन होइन, अस्थिरता र खर्चिलो राज्य संरचनालाई बढुवा दिएको उनको भनाई थियो ।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देन र भ्रष्टाचार गरेर गिरीबन्धु चिया बगान बेचेर खाने केपी ओली यही झापाका सांसद भएकाले झापाली जनताले अब कसलाई छान्ने बुझ्‌न आवश्यक रहेको शाहीले बताए ।

बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी झापा जिल्ला कमिटीका अध्यक्ष केशवप्रसाद ओझाको अध्यक्षतामा केन्द्रीय अध्यक्ष लिङ्देन , राप्रपा केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ,राप्रपा सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, राप्रपाका संसदीय दलका प्रमुख सचेतक शाही , पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा ,कोशी प्रदेश सभा सदस्य सविना बजगाईँ , राप्रपा केन्द्रीय प्रवक्ता भक्ति सिटौला , केन्द्रीय सदस्यहरू, नेता तथा कार्यकर्ता लगायत करिब ३ हजार जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाइसीएलका केन्द्रीय सदस्य हल्दिवारीका शिवराम घिमिरेसहित विभिन्न पार्टी परित्याग गरी करिब २०० जना राप्रपामा प्रवेश गरेको उद्घोष गरिएको थियो ।

सम्बन्धित समाचार