२०८३ असार १ गते , सोमबार

पूरा भयो अधिकमास अर्थात् मलमास

sajilo news
झापा
२०८३ असार १ गते , सोमबार
पूरा भयो अधिकमास अर्थात् मलमास

अधिकमास अर्थात् मलमास पूरा भएको छ। जेठ ३ गते शुरु भएको अधिकमास सोमबार अर्थात् असार १ गते पूरा भएको हो।ज्योतिषशास्त्रमा एकै चान्द्रमासमा दुईवटा औँसी परेको अवस्थालाई अधिकमास भनिन्छ। अर्को अर्थमा संक्रान्ति नभएको चान्द्रमास अधिकमास हो।

पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार हाम्रो पात्रो सौर र चान्द्र गरी दुई किसिमले गणना गर्ने गरिएको छ। ‘सौरमास गतेका आधारमा चल्छन्। चान्द्रमास तिथिका आधारमा’, उनले भने, करिब तीन वर्ष भएपछि सौर र चान्द्रमासबीचको अन्तरले बन्ने छुट्टै चान्द्रमास अधिकमास हो।’

अर्को अधिकमास २०८५ सालमा पर्ने ढकालले जानकारी दिए। अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। पुराणहरूमा यो समयमा मांगलिक कार्य गर्न नहुने मान्यता छ। भगवान् नारायणको पूजा–आराधना गर्ने महिना भएकाले पुरुषौत्तममास भनिएको हो।

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मच्छे (मत्स्य) नारायण मन्दिरमा महिनाभर दर्शनार्थीको घुइँचो लाग्यो, त्यहाँ लागेको एक महिने मेला पनि सोमबार नै समापन भएको छ। 

सम्बन्धित समाचार