२०८३ बैशाख ४ गते , शुक्रबार

सशस्त्र प्रहरी बराह बाहिनीको रजत महोत्सव भव्य रूपमा सम्पन्न

sajilo news
सुनसरी
२०८२ चैत्र १८ गते , बुधबार
सशस्त्र प्रहरी बराह बाहिनीको रजत महोत्सव भव्य रूपमा सम्पन्न

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली सुनसरीले आफ्नो २५औँ स्थापना दिवस (रजत महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

बुधवार आयोजित कार्यक्रम सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले सुरक्षा फौजको शान झल्किने खुकुरी ड्रिल, विभिन्न मौलिक लोकभाका तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

रजत जयन्तीका अवसरमा रक्तदान, जनचेतनामूलक कक्षा सञ्चालन, धार्मिक स्थल सरसफाइ, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रमहरू साताव्यापी रूपमा सञ्चालन गरिएको बाहिनीले जनाएको छ। साथै, आन्तरिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद, प्रशंसापत्र र कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, अनुसन्धान निकायका प्रतिनिधि, मानवअधिकारकर्मी, पूर्व सशस्त्र प्रहरी कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक मगरले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि हालसम्म देशको सुरक्षा, शान्ति व्यवस्था, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण तथा विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले वर्तमान परिवर्तित सन्दर्भमा नेपाल सरकार र गृह मन्त्रालयको निर्देशन अनुसार आवश्यक तयारीसहित जिम्मेवारी निर्वाह गर्न संगठन सदैव तत्पर रहेको उल्लेख गरे।

त्यस्तै, बराह बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग तथा विपद् व्यवस्थापनका क्षेत्रमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए। उनले आगामी दिनमा पनि “शान्ति, उद्धार, सुरक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार