झापाको बाह्रदशी गाउँपालिकाद्वारा १६ करार शिक्षक हटाइए
झापाको बाह्रदशी गाउँपालिकाले १६ जना करार शिक्षकलाई सेवाबाट निष्कासित गरेको छ । भोलि बैशाख १ गतेदेखि लागू हुने गरी ती शिक्षकहरूलाई निष्कासित गरिएको हो । गाउँपालिकाले आज एक सूचना जारी गरी अब गाउँपालिकाबाट करार शिक्षकहरूलाई तलब, भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ।
निष्कासनमा पर्ने करार शिक्षकहरूमा जनज्योति आधारभूत विद्यालयका हेमन्त राजवंशी, जनविकास माविकी रितादेवी राजवंशी, सोही विद्यालयका राजन दुलाल , साधुपर्ती आधारभूत विद्यालयकी खेममाया राई , अमृत माविका मनिराज प्रसाईँ , पशुपति आधारभूत विद्यालयकी रेणुका बस्नेत , जनता आधारभूत विद्यालयकी पवित्रा राजवंशी , घोडामारा आधारभूत विद्यालयकी दिपा देउजा , सोही विद्यालयकी एन्जिला मैनाली , गौरीशङ्कर माविका तीर्थराज दुलाल , सुन्दरपुर आधारभूत विद्यालयकी प्रतिमा राजवंशी , रामनगर आधारभूत विद्यालयकी हिमादेवी दाहाल , गौरीशङ्कर गुरुकुलका मनोज खतिवडा , मदरसा दारुल उलुमकी नग्मा खातुन , मदरसा मुजाहिर उलुमकी नगिना खातुन र राधा नगर आधारभूत विद्यालयकी जयन्तीकुमारी शाह रहेका छन् ।
गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विगतमा वडा तथा गाउँपालिकाको अनुदानबाट सामुदायिक तथा धार्मिक विद्यालयहरूमा करार शिक्षक व्यवस्थापन गर्दै आएको थियो। तर हालको आर्थिक अवस्था, बढ्दो वित्तीय दायित्व तथा सीमित आन्तरिक आम्दानी र संघीय सरकारको परिपत्रका कारण उक्त व्यवस्थालाई निरन्तरता दिन असम्भव भएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जनाएका छन् । गाउँ कार्यपालिकाको २०८२ मङ्सिर ३० गते बसेको बैठकको निर्णयअनुसार २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी गाउँपालिकाबाट अनुदानमार्फत पारिश्रमिक पाइरहेका करार शिक्षकहरूलाई अब कुनै पनि प्रकारको आर्थिक सुविधा उपलब्ध नगराइने भएको हो।
यद्यपि, सम्बन्धित विद्यालयहरूले आफ्नै आन्तरिक स्रोतबाट पारिश्रमिक तथा सुविधा व्यवस्थापन गर्न चाहेमा सेवा निरन्तरता दिन सक्ने उल्लेख गरिएको छ। तर त्यसरी सेवा निरन्तरता दिँदा सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्बन्धित विद्यालयकै हुने गाउँपालिकाले स्पष्ट पारेको छ।