२०८३ बैशाख ३ गते , विहीबार

मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, १३ जना घाइते

sajilo news
मोरङ
२०८३ बैशाख १ गते , मंगलबार
मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, १३ जना घाइते

मोरङका दुई छुट्टाछुट्टै स्थानमा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।दुर्घटना कानेपोखरी गाउँपालिका र बूढीगंगा गाउँपालिकामा भएको प्रहरीले जनाएको छ ।  कानेपोखरी गाउँपालिका–५ मा दिउँसो करिब २:२० बजे ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । जहदाबाट भौँसाबारीतर्फ जाँदै गरेको बा ३९ प ४३३३ नम्बरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका कार्कीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । कार्की कानेपोखरी–७ का बासिन्दा हुन् । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीय दिलबहादुर कार्की सामान्य घाइते भएका छन् । उनको उपचार सोही अस्पतालमा भइरहेको छ । 

प्रहरीले दुर्घटनापछि मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक कानेपोखरी–५ का ६० वर्षीय प्रदीप राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । 

 

यसैगरी, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–५ बाँसबारीमा साँझ करिब ७ बजे माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२२८ नम्बरको माइक्रोले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ । 

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका माइक्रो चालकको खोजी कार्य तीव्र पारिएको छ ।

सम्बन्धित समाचार