जापानमा पनि ‘सिरूवा’ पर्व मनाइयो
जापानमा अध्ययनरत तथा कार्यरत नेपाली आदिवासी युवायुवतीहरूले पहिलो पटक आफ्नो मौलिक परम्परा अनुसार ‘सिरूवा’ पर्व मनाएका छन्।
जापानको रिन्काई पार्कमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पूजाआजा गर्दै रङ खेली ‘रङ सिरूवा’ मनाएका हुन्। राजवंशी युनियन जापानका अगुवा दिलीप राजवंशीका अनुसार कार्यक्रममा उपस्थितहरूले एकापसमा शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेको बताए ।
कार्यक्रमको स्वागत हरिनारायण राजवंशीले गरेका थिए भने सञ्चालन सबनम राजवंशीले गरेकी थिइन्। कार्यक्रममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो। हाल जापानमा राजवंशी, ताजपुरिया, गनगाईलगायत तराईका आदिवासी समुदायका दुई सयभन्दा बढी युवा–युवती रहेको मणि राजवंशीले जानकारी दिए। विदेशमा रहेर पनि आफ्नो पहिचान र संस्कृतिलाई जोगाउन यस प्रकारका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने सहभागीहरूको भनाइ छ।