२०८३ जेष्ठ ५ गते , मंगलबार
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ
भारतमा एक साताभित्र दोस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । मंगलबार पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर करिब ९० पैसा बढाइएको हो । नयाँ दिल्लीमा पेट्रोलको मूल्य अब ९८.६४ रुपैयाँ र डिजेल ९१.५८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यहीबीच चण्डीगढको सेक्टर–१७ स्थित एक पेट्रोल पम्पमा सीमित मात्रामा इन्धन दिने सूचना टाँसिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ । सूचनामा दुईपाङ्ग्रे सवारीलाई ५०० रुपैयाँसम्म र चारपाङ्ग्रे सवारीलाई १,५०० रुपैयाँसम्म मात्र पेट्रोल उपलब्ध गराइने उल्लेख थियो ।
तर प्रशासनले इन्धन अभाव नरहेको र यस्ता कुनै निर्देशन जारी नगरिएको स्पष्ट पारेको छ । पम्प व्यवस्थापनका अनुसार स्टक कम भएकाले अर्को ट्यांकर नआउञ्जेल इन्धन सकिन नदिन अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको हो । यसैबीच सीएनजीको मूल्य पनि लगातार बढिरहेको छ ।