मिडियामैत्री झापा प्रहरी प्रवक्ता खड्काको विदाई
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्का आज विदाई भएर गएका छन् । सेवाग्राहीसँगै झापाका सञ्चारकर्मीमाझ मिलनसार र सहयोगी रहेका डीएसपी खड्काको काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगन्जमा सरुवा भएको हो । उनको ठाउँमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीबाट रञ्जन अवा आउने भएका छन् ।
विराटनगर निवासी डीएसपी खड्काले गत वर्षको फाल्गुण महिनादेखि झापा प्रहरीको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट सरुवा भई झापा आएका थिए । करिब एक वर्ष २ महिनाको कार्यकालमा उनले जिल्ला प्रहरी कार्यालय झापाको सूचना अधिकृतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।
त्यस्तै प्रहरी अपरेशन (कारबाही) र जनसम्पर्क र समुदायसँग आफूलाई जोड्ने क्षमता भएका कारण खड्काले सेवाग्राहीको मन जित्न सफल भएका थिए । त्यही भएर सरुवा भएर जाने बेलामा उनलाई विभिन्न संघ संस्थाले सम्मानसहित विदाई गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते दमकमा र २४ गते जिल्ला सदरमुकाममा रहेका जिल्ला प्रहरी कार्यालय लगायत दर्जनौँ सरकारी कार्यालयहरू आन्दोलनकारीको आक्रमणबाट बचाउन खड्काको कमान्डमा प्रहरी परिचालन भई जोगाउन सफल भएका थिए । प्रहरीहरू नेतृत्वविहीन भइसकेको अवस्थामा सुझबुझका साथ जिल्ला सदरमुकाम बचाउन सफल भएका थिए । भाद्र २४ गतेको आन्दोलनमा प्रहरी कमान्ड सम्हालिरहँदा उनी अनुभवी कमान्डर भएकै कारण सयौँ राउन्ड गोली प्रहार गरेपनि एकजना आन्दोलनकारी पनि घाइते भएका थिएनन् । सोही योगदानको कदर गर्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबाट उत्कृष्ट कार्य गरेकोमा उनलाई पुरस्कृत गरिएको थियो ।
डीएसपी खड्काले प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै जिल्लामा लागूऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम तथा ओसारपसारबिरुद्धको कारबाहीमा उल्लेख्य काम गरेका थिए । दोषी नछुटुन् र निर्दोष कोही नपरुन् भन्ने मुख्य भनाई लाई व्यवहारमा उतार्न उनी सधैँ तत्पर देखिएका थिए ।